सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सहरी पूर्वाधार विकास र सडक स्तरोन्नतिका लागि ३६ करोड ९ लाख रुपैयाँको बहुवर्षीय योजना तथा कार्यक्रम कार्यविधि स्वीकृत भएको छ।
नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाका अनुसार सल्लेरी र पत्ताले बजार क्षेत्रको सहरी पूर्वाधार विकासका लागि २६ करोड ७४ लाख रुपैयाँ र सडक स्तरोन्नतिका लागि ९ करोड ३५ लाख रुपैयाँको योजना स्वीकृत भएको हो।
स्वीकृत कार्यक्रमअन्तर्गत अब आयोजना छनोट समितिको बैठकबाट आवश्यक योजना छनोट गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने नगरप्रमुख शेर्पाले जानकारी दिनुभएको छ।
उक्त कार्यक्रम कार्यान्वयनमा आए सोलुदुधकुण्ड नगरपालिकाको सहरी विकास र सडक पूर्वाधार सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।