रामेछाप, कार्तिक ७। उज्यालो नेपाल पार्टीको उमाकुण्ड गाउँपालिका कमिटी पुनर्गठन भेलाले तेण्डि शेर्पाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले हेमराज तामाङलाई सचिवमा चयन गरेको हो।
रामेछापको उमाकुण्ड गाउँपालिकामा आयोजित उक्त भेलामा पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेलामा पार्टीका केन्द्रीय अध्यक्ष घिसिङसहित केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज रामकृष्ण लामा, केन्द्रीय नेताहरू दिप योञ्जन लामा र विकास श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी, रामेछाप जिल्ला अध्यक्ष चिना लामा, जिल्ला सचिव मोतिलाल घिसिङलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले उमाकुण्ड गाउँपालिकामा पार्टीलाई जनताको विश्वास जित्ने राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए। उनले स्थानीय तहमा संगठन विस्तार र जनताका समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
नवनिर्वाचित कमिटीले स्थानीय तहमा देखिएका समस्या तथा विकृतिविरुद्ध आवाज उठाउँदै जनताका सवाललाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा संगठन विस्तार गरी पार्टीको उपस्थितिलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।
नयाँ कार्यसमिति सर्वसम्मत चयन भएसँगै उमाकुण्ड गाउँपालिकामा पार्टीको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ ।