Loading

एनपीएलमा लुम्बिनी लायन्सको अपराजित यात्रा कायमै, पोखरालाई ८ विकेटले हरायो

एनपीएलमा लुम्बिनी लायन्सको अपराजित यात्रा कायमै, पोखरालाई ८ विकेटले हरायो

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।

मंगलबार भएको खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४७ रन बनाए । यस्तै, निरोशन डिकवेलाले २८ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित २७ रन जोडे । रोहित र डिकवेलाले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो । पोखराका चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए भने कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले १६ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ विकेट लिँदा शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले १–१ विकेट लिए ।

जितसँगै ३ खेलबाट ५ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस सिजन लुम्बिनी अपराजित रहने एक्लो टोली बनेको छ । उता पोखराको भने यो लगातार तेस्रो हार हो । अंकविहीन पोखरा तालिकाको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *