Loading

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बझाङ, १८ कात्तिक । बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । दुर्घटनामा जिपमा सवार अन्य सात जना भने सकुशल रहेका छन् ।

भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ४३७६ नम्बरको जिप मङ्गलबार बिहान करिब ९ः१० बजे भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी घाइते भएका छन् । त्यस्तै, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र ४२ वर्षीय रामकुमार धामी पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार ब्रेक फेल भएपछि अनियन्त्रित भएको जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि उद्धारका लागि प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा ११ जना प्रहरी घटनास्थलमा खटिएका थिए । जिप बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामीले चलाएको खुलेको छ । स्थानीयका अनुसार उक्त जिप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *