Loading

माप्य दुधकोशीमा ४८ किलोमिटरको ‘एभरेस्ट भ्यू ट्रेल रेस’ हुँदै, विजेतालाई १ लाख २० हजार पुरस्कार

माप्य दुधकोशीमा ४८ किलोमिटरको ‘एभरेस्ट भ्यू ट्रेल रेस’ हुँदै, विजेतालाई १ लाख २० हजार पुरस्कार

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने भएको छ । पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा आगामी मङ्सिर १७ गते ४८ किलोमिटर दूरीको ट्रेल रेस सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान रूपमा चार विधामा प्रतिस्पर्धा हुनेछ । १८ देखि २९ वर्ष, ३० देखि ४९ वर्ष, ५० वर्ष वा सोभन्दा माथि उमेर समूह तथा खुला विधामा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । खुला विधामा सहभागी हुन न्यूनतम १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । खुला विधामा सहभागी हुने खेलाडीले अन्य उमेर समूहमा समेत प्रतिस्पर्धा गर्न नपाउने गाउँपालिकाले जनाएको छ ।

खुला विधामा प्रथम हुने महिला तथा पुरुष खेलाडीले जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । द्वितीय हुनेले ९० हजार, तृतीय हुनेले ६० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, चौथोदेखि बाह्रौँ स्थानसम्म हासिल गर्ने खेलाडीले जनही दुई हजार चार सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी, तीनवटै उमेर समूहका महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही २४ हजार, द्वितीय हुनेले १८ हजार र तृतीय हुनेले १२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सबै विधामा प्रदान गरिने नगद पुरस्कारबाट प्रचलित कानुनअनुसार १५ प्रतिशत कर कट्टी गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा नेपालीसँगै विदेशी नागरिकले पनि निःशुल्क सहभागिता जनाउन सक्नेछन् । इच्छुक खेलाडीले मङ्सिर १५ गतेसम्म नागरिकता वा आधिकारिक परिचयपत्रसहित गाउँपालिकाको कार्यालयमा उपस्थित भएर वा प्रतियोगिताको आधिकारिक वेबसाइटमार्फत अनलाइन नाम दर्ता गराउन सक्नेछन् ।

रेसमा सहभागी हुने खेलाडी मङ्सिर १७ गते बिहान ६ बजेसम्म निर्माणाधीन कोर्कु रङ्गशालामा उपस्थित भइसक्नुपर्नेछ । प्रतियोगिता सोही दिन बिहान ७ बजे रङ्गशालाबाट सुरु हुनेछ ।

यसैबीच, प्रतियोगितासँगै पाँच किलोमिटर दूरीको फन रनसमेत आयोजना गरिनेछ । फन रनमा सहभागीले मुख्य ४८ किलोमिटरको ट्रेल रेसमा भने सहभागिता जनाउन पाउने छैनन् । फन रनमा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको सहभागिता बढाउन र माप्य दुधकोशी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन इच्छुक खेलाडीलाई निर्धारित समयभित्र नाम दर्ता गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *