रामेछाप, ३ मंसिर । नेपाली कांग्रेसको संस्थापनइतर समूहले रामेछापमा आगामी मंसिर १४ गते १५औँ जिल्ला अधिवेशन गर्ने भएको छ। समूहले अधिवेशन मन्थलीस्थित तीनलाल पार्कमा गर्ने निर्णय गरेको जनाएको छ।
बिहीबार मन्थलीमा आयोजित पत्रकार भेटघाटमा समूहका जिल्ला संयोजक जितबहादुर मगरले अधिवेशनको तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार जिल्लाका ६४ वडामध्ये हालसम्म ५६ वडाको अधिवेशन सम्पन्न भएको छ भने बाँकी ८ वडामा अधिवेशन हुन सकेको छैन।
अधिवेशन सम्पन्न गर्न समूहले विभिन्न पाँच उपसमिति गठन गरी तयारी गरिरहेको जनाएको छ। अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सहभागी गराउने तयारीसमेत भइरहेको संयोजक मगरले बताए।
यसैबीच, कांग्रेस रामेछापका सभापति एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पनि संस्थापनइतर समूहको अधिवेशन तयारीमा सक्रिय देखिएका छन्।