दोलखा । दोलखा जिल्लाका विभिन्न स्थानमा जङ्गली कालो भालु मानव बस्तीमा देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। कार्तिक महिना सुरु भएसँगै बस्ती तथा खेतीयोग्य जमिनमा भालुको आवतजावत बढेको छ। यसैक्रममा भालुको आक्रमणबाट भीमेश्वर नगरपालिकाका एक पुरुष गम्भीर घाइते भएका छन्।
भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीका अन्दाजी ३५ वर्षीय विष्णु शिवाकोटी जङ्गली भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्। बुधबार घरनजिकैको जङ्गलमा घाँस काट्न गएका उनलाई दुईवटा भालुले एकैसाथ आक्रमण गरेको जनाइएको छ।
आक्रमणबाट अनुहारमा गम्भीर चोट लागेका शिवाकोटीलाई उपचारका लागि सुरुमा स्थानीय स्वास्थ्य संस्थामा लगिएको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले जानकारी दिएका छन्।
दोलखामा भालुको आक्रमणबाट मानिस घाइते भएको यो पछिल्लो घटना हो। गत वर्ष वैतेश्वर गाउँपालिका–३ ठाडेमा जङ्गली भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको थियो। त्यसैगरी, जिरी नगरपालिकामा भएको भालुको आक्रमणमा चार जना घाइते भएका थिए।
यस वर्ष वैतेश्वर गाउँपालिकाका विभिन्न बस्तीमा पनि जङ्गली भालुको गतिविधि बढेको छ। गाउँपालिकाको यार्सा र काब्रे क्षेत्रमा कालो भालु देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
स्थानीय किसानका अनुसार बस्ती नजिकै देखिएको जङ्गली भालुले खेतबारीमा लगाइएको कोदोबालीमा समेत क्षति पुर्याएको छ। भालु बस्तीमै प्रवेश गर्न थालेपछि बालीनाली जोगाउनुका साथै दैनिक घरायसी तथा कृषि गतिविधिमा समेत जोखिम बढेको स्थानीयको भनाइ छ।
भालुको नियमित आवतजावत र बालीनालीमा भइरहेको क्षतिका कारण स्थानीयले सम्बन्धित निकायसँग यसको नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कदम चाल्न माग गरेका छन्।
गत वर्ष वैतेश्वरमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएपछि नेपाल प्रहरी र जिल्ला वन कार्यालयका कर्मचारीले संयुक्त रूपमा गस्तीसमेत गरेका थिए। तर यस वर्ष पुनः बस्ती आसपास भालु देखिन थालेपछि स्थानीयमा पुरानै जोखिम दोहोरिने चिन्ता बढेको छ।
दोलखामा जङ्गली जनावर बस्तीमा प्रवेश गर्ने र खेतीबालीमा क्षति पुर्याउने घटनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको विषयलाई पुनः चर्चामा ल्याएको छ। विशेषगरी जङ्गल आसपासका बस्तीमा घाँसदाउरा गर्न जाने तथा खेतबारीमा काम गर्ने स्थानीय बढी जोखिममा पर्न सक्ने अवस्था देखिएको छ।
स्थानीयको सुरक्षासँगै वन्यजन्तुको संरक्षणलाई समेत ध्यानमा राख्दै सम्बन्धित वन कार्यालय, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरी जोखिमयुक्त क्षेत्रको पहिचान, निगरानी, जनचेतना र आवश्यक सुरक्षात्मक उपाय प्रभावकारी बनाउनुपर्ने देखिन्छ।
भालुको आक्रमणबाट हुने सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने स्थानीयको माग छ।