Loading

अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ पुग्यो, किसान उत्साहित

अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ पुग्यो, किसान उत्साहित

सोलुखुम्बु । नेपाली अलैँचीको बजार मूल्यमा वृद्धि भएसँगै प्रतिमन (४० किलो) मूल्य एक लाख रुपैयाँ पुगेको छ। अलैँचीको मूल्य बढेपछि उत्पादनमा संलग्न किसान तथा व्यवसायी उत्साहित भएका छन्।

नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार बजारमा हाल दुई गुणस्तरको अलैँचीको कारोबार भइरहेको छ। जसअनुसार ‘जेजे’ अलैँची प्रतिमन एक लाख रुपैयाँ र ‘चालू’ अलैँची प्रतिमन ९७ हजार रुपैयाँका दरले खरिदबिक्री भइरहेको छ।

अहिले औँलो क्षेत्रका किसानले अलैँची बजारमा पुर्‍याइसकेका छन् भने लेकाली क्षेत्रको अलैँची टिपेर भट्टीमा सुकाउने प्रक्रिया भर्खर सुरु भएको छ। लेकाली क्षेत्रको उत्पादन बजारमा आउन बाँकी रहेकाले आगामी दिनमा कारोबार थप बढ्ने अपेक्षा गरिएको छ।

उच्च बजार मूल्यका कारण अलैँचीलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ। नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरेको भए पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा यसको उत्पादन बढी हुने गरेको महासङ्घका अध्यक्ष नेपालले जानकारी दिनुभयो।

नेपालमा उत्पादन हुने अलैँचीको करिब ९० प्रतिशत निर्यात हुने गरेको छ। नेपाली अलैँची भारत हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ। भारतमा नेपाली अलैँचीको ब्रान्डिङ तथा प्रशोधनपछि विभिन्न मुलुकमा निर्यात हुने गरेको व्यवसायीहरू बताउँछन्।

मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भने अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा अलैँची निर्यातमा ३३ प्रतिशत वृद्धि भएको जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग, निर्यातको अवस्था र बजार मूल्यमा आएको सुधारले यस क्षेत्रको व्यावसायिक सम्भावना थप बलियो बनाएको देखिन्छ। यद्यपि किसानले पाउने मूल्यमा स्थायित्व, गुणस्तरीय उत्पादन, प्रशोधन तथा प्रत्यक्ष अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्न सके अलैँची खेतीबाट अझ बढी आर्थिक लाभ लिन सकिने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *