रामेछाप – रामेछापको उमाकुण्डमा उमाकुण्ड खेलकुद विकास समितिले सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उमाकुण्ड गाउँपालिका -५, सरस्वती मावि, सेतुधाराको प्राङ्गणमा उक्त भलिबल प्रतियोता आयोजना हुन लागेको हो ।
फिभाको नियम अनुसार सञ्चालन हुने खुल्ला पुरुष भलिबल प्रतियोगिता यही बैशाख ३ गते देखि ५ गतेसम्म तीन दिन हुनेछ भने प्रतियोगितामा बाह्र टिमसम्म सहभागी भएमा लिगकम नकआउट र सो भन्दा माथि भएमा नकआउट चरणमा प्रतियोगिता सञ्चालन हुने सूचना प्रकाशित गर्दै आयोजकले जनाएको छ।
नयाँ बर्ष २०८१ को अवसरमा आयोजना हुने लागेको प्रतियोगितामा विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका,संघसंस्था, तथा क्लबहरूको सहभागिता हुनसक्ने छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा टीम दर्ता शुल्क ५ हजार तोकिएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमले एक लाख ५१ हजार एक सय ११ नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने छ। त्यस्तै दोस्रो हुनेले एक लाख एक हजार एक सय ११ नगद, तेस्रो हुने टीमले ५१ हजार एक सय ११ नगद, सान्त्वना हुने टिमले २५ हजार एक सय ११ नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने छन । साथै उत्कृष्ट खेलाडी, स्पाइकर, लिब्रो, सेन्टर र ब्लकरका पाँच विधाले नगदसहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने जनाएका छन् ।
खेलाडीको सम्मान र खेलकुदको क्षेत्रबाट पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजना हुनलागेको प्रतियोगिताको टीम दर्ताको समय यही चैत्र ३० गतेसम्म रहेको उमाकुण्ड खेलकुद विकास समितिले जनाएको छ। सो प्रतियोगिताको टाईसिट बैशाख २ गते प्रकाशन गर्ने उमाकुण्ड खेलकुद विकास समितिको अध्यक्ष सुदीप सुनुवारले जानकारी दिनुभएको छ ।
Discussion about this post