रामेछाप । उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र ग्रिन तारा नेपालकाे समन्वयमा करूणा ट्रष्ट जर्मनी संस्थाले हिमालयन आधारभूत विद्यालय, लाछेवारको विद्यार्थीहरुलाई झाेला, टाेपी, ज्याकेट, ट्राउजर, माेजा, जुत्ता र विद्यालयलाई शैक्षिक सामाग्री, खेलकुद सामाग्री, सेताे पाटी र मार्कर समेत वितरण गरेको छ ।
जाडो मौसम सुरु भएको हुदा हिमाली क्षेत्रका बालबालिकाहरूको स्वास्थ र सिकाइ दुबै प्रभावित नहोस् भन्ने उद्देश्यअनुसार विद्यार्थीलाई झोला र स्टेसनरी सामग्री वितरण गरेको हो । जाडो मौसममा न्यानो पाेशाक र शैक्षिक सामाग्री पाउदा बालबालिकाहरूको मुहारमा धेरै खुसी देखिएका छन् ।
पिछडिएको शेर्पा समुदायका बालबालिका मात्र अध्ययन गरिरहेको रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालपका अन्तर्गत पर्ने नुम्बुर हिमालको काखमा अवस्थित कक्षा पाच सम्म सञ्चालित यो विद्यालयमा हाल १४ जना विद्यार्थी,२ जना शिक्षक र १ जना विद्यालय कर्मचारी कार्यरत रहेकाे शिक्षा शाखाका प्रा.स ङावा शेर्पाले बताउनुभयो ।
साथै साेही कार्यक्रममा ग्रिन तारा नेपालकाे स्वास्थ्य प्रवर्द्धकहरूले विद्यार्थीहरूकाे स्वास्थ्य परीक्षण ( आँखा, जाँच, दाँत, ताैल) गरिएको छ । उमाकुण्ड गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी ङावा शेर्पा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरूसंग बालबालिकाकाे व्यक्तिगत सरसफाइ, दिवा खाजा, विद्यार्थीकाे नियमित उपस्थिति, सिकाइ सुधार लगायत विविध विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियोे ।
गत आर्थिक बर्षको बजेट मार्फत साे विद्यालयकाे लागि गाउँपालिकाले बालमैत्री शाैचालय र धारा निर्माण गरि विद्यालयको भौतिक पूर्वाधार थप सुधार गरिएको छ ।
Discussion about this post