रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नम्बर २ को अगुवाइमा यहाँका मुख्य बजार रत्नज्योति र लुबुँमा आज बिहीबार बजार अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा मापदण्ड नअपनाई सञ्चालन भइरहेको, म्याद गुज्रिएको र गुणस्तरहीन सामान जफत तथा सामान बेच्ने व्यवसायीलाई सजग बनाइएको छ ।
२ नम्बर वडा कार्यालय बाम्तीका जनप्रतिनिधि, टोल विकास संस्था पदाधिकारी ,संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी , प्रहरी प्रशासनसहितको संयुक्त अनुगमन टोलीले आज ८० वटा होटल र पसल अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा पालिकाले निर्धारण गरिएको मूल्यसूची नराखिएको, केही पसलहरू दर्ता बिना सञ्चालन गरिएको र मेडिकल तथा कास्मेटिक पसलका म्याद गुज्रिएको अौषधि लगायत अस्वस्थकर वस्तुहरू बरामद गरी प्रहरीको रोहवरमा नष्ट गरिएको छ ।
अनुगमनका क्रममा आएको टोलीलाई मेडिकल व्यवसायीहरू भने सबैलाई एकरुपता हुनुपर्ने गुनासो गरेका छन्। उनीहरूले सरकारलाई कर तिरे पनि ब्यवसायीहरुको हितमा कुनै काम नभएको बताएका छन् । कतिपय गाउँघरमा सञ्चालित स्वस्थ्य संस्थाहरूले फार्मेसी नै दर्ता नगरी आफू खुसी आैषधि बिक्रीवितरण गरिएको उनीहरू बताउँछन् ।
त्यस्तै गाउँपालिकाले निर्धारण गरिए मूल्यसुची भन्दा बढी मूल्यमा बिक्रीवितरण गरिएको उपभोक्ताको गुनासोलाई मध्यनजर गरि गाउँपालिका अनुगमन संयोजक तथा उपाध्यक्ष सावित्री सुनुवारको निर्देशन बमोजिम उमाकुण्ड २ नम्बर वडा बाम्तीका बोइलर कुखुरा मासु प्रति केजी ४ सय ५० कायम गरिएको छ । आजैदेखि कायम हुने गरी बोइलर कुखुरा व्यवसाय र वडा कार्यालय बीच आज उक्त सम्झौता भएको हो ।यसभन्दा अगाडि बोइलर कुखुराको मासु ४ सय ८० रुपैयाँ प्रति केजीमा बिक्रीवितरण गर्दै आएको थियो । उमाकुण्ड २ बाम्तीभण्डारमा ५ वटा बोइलर कुखुराको मासु व्यवसाय रहेका छन् ।
Discussion about this post